दफा १४
जमानत वा डिपोजिट लिने

(१) किस्ताबन्दीमा कुनै रकमको ठेक्का बन्दोबस्त गर्दा सो ठेक्का लिन कबूल गर्ने व्यक्तिबाट देहायबमोजिम डिपोजिट लिएर मात्र ठेक्का बन्दोवस्त गर्नुपर्छः–

(क) ठेक्का कबूल गर्ने व्यक्ति नेपाली नागरिक भएमा निजले बुझाउनु पर्ने जम्मा ठेक रुपैयाँको चार खण्डको एक खण्ड बराबर नेपाल………. भित्रको अचल जायजेथा वा राष्ट्रिय ऋणपत्रको जमानत वा नगद रूपैयाँ डिपोजिट लिएर ।

(ख) ठेक्का कबुल गर्ने गैर–नेपाली नागरिक भएमा निजले बुझाउनु पर्ने जम्मा ठेक रुपैयाँको तीन खण्डको एक खण्ड बराबर नेपाल……… भित्रको अचल जायजेथा वा ऋणपत्रको जमानत वा नगदी रुपैयाँ डिपोजिट लिएर ।

(२) रकम बाहेक अरु कुनै कामको ठेक्का बन्दोवस्त गर्दा जमानत लिने दिने कुराका सम्बन्धमा नेपाल सरकार र ठेकदारका बीचमा भएको शर्त बमोजिम हुनेछ ।

(३) यस दफाको प्रयोजनको लागि कुनै अचल सम्पत्तिको मूल्यांकन गर्दा कर अड्डाबाट सो सम्पत्तिको मूल्यांकन भएकोमा सोही बमोजिम र त्यस्तो मूल्याकंन नभएकोमा गाउँपालिका वा नगरपालिका मार्फत पञ्चकीर्ति मोल कायम गरी मूल्यांकन गरिनेछ ।
तर सो बमोजिम भएको मूल्याकन ठीक छैन भन्ने लागेमा सो कुराको कारण सहितको पर्चा खडा गरी जमानत लिने कर्मचारीले थप जमानत माग्न सक्नेछ ।

(४) नेपाल सरकारका तर्फबाट बन्दोवस्तहुने कुनै ठेक्काका सम्बन्धमा कुनै सरकारी कर्मचारीलाई जमानत लिंदा, निजले नेपाल सरकारबाट पाउने पारिश्रमिकको रूपैंयाँ कट्टा हुने गरी जमानी लिन हुँदैन ।